KhojSansar

बेनीमा आधुनिक बधशाला निर्माण

Khoj Sansar News

म्याग्दी, १६ साउन : जिल्ला सदरमुकाम बेनीमा स्वच्छ मासु आपूर्ति गर्ने उद्देश्यले बेनपा–२ हाडेभिरमा आधुनिक बधशाला निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहयोगमा बेनी नगरपालिकाले ठेक्का प्रक्रियामार्फत बधशाला निर्माण गरेको हो । आर्थिक वर्ष २०८१/८२ मा रु ४० लाख विनियोजन भएको बधशाला निर्माणका लागि ठेक्का प्रतिस्पर्धामार्फत भण्डारी निर्माण सेवाले रु २९ लाखमा सम्झौता गरेको थियो ।

स्वच्छ मासु आपूर्ति गराउन आधुनिक किसिमको सफा, सुग्धरयुक्त बधशाला निर्माण गरी सञ्चालनको तयारी गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । पशु बध गर्ने र मासु काट्नका लागि एउटै टहरामा दुईवटा फरकफरक ‘डट’ र ‘क्लिन’ एरिया बनाइएको छ । डट एरियामा पशुको बध गरेपछि टायल बिछ्याइने क्लिन एरियामा ल्याएर पशुको शरीर झुण्डाएर छाला निकाल्ने र सफा तरिकाले मासु काट्ने संरचना बनाइएको हो ।

पशु बध गरेपछि हुने रगत, लादी र छालालाई प्रदूषण नहुने गरी सुरक्षित किसिमले व्यवस्थापन गर्ने संरचना निर्माण भएको छ । बध गरिसकेपछि बधशालामा पशुको शरीर झुण्ड्याउने ट्रलीसहितको उपकरण जडान भएको छ । सरसफाइका लागि पानी आपूर्ति र शौचालय निर्माण भएको छ । हाल रहेको परम्परागत र अव्यवस्थित किसिमको बधशालाकै छेउमा नयाँ बधशाला बनाइएको हो । बेनी बजारमा २५ वटाभन्दा बढी मासु पसल छन् । म्याग्दीमा वार्षिक करिब दुई हजार मेट्रिक टन मासु खपत हुने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.