KhojSansar

अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन

Khoj Sansar News

गुल्मी, २९ साउनः लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध बनेको थियो ।

अवरुद्ध सडक सञ्चालन गर्नका लागि उक्त क्षेत्रमा काम गर्दै आएको सडक निर्माण कम्पनीले स्काभेटरको माध्यमबाट सडकमा थुप्रिएको पहिरो पन्छ्याएपछि केहीबेर अघिदेखि उक्त सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

त्यसैगरी अविरल वर्षाका कारण पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध मदनभण्डारी राजमार्ग सडकअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक भने अझै सञ्चालनमा आउन सकेको छैन । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक सञ्चालनका लागि प्रयास भइरहे पनि पानी पहिररहेको र सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सारुले जानकारी दिनुभयो ।

सडक अवरुद्ध बनेपछि अहिले त्यस क्षेत्रमा रुरुक्षेत्र‐३ स्थित पानी ट्यङ्कीबाट थोर्गाहुँदै सालबिसौनाको वैकल्पिक सडक प्रयोग गरि सवारी साधन सञ्चालन भइरहेका छन् । मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डमा समानान्तर जेभी र इलाइट कम्पनीद्वारा २५ किलोमिटर सडक फराकिलो र कालोपत्रको काम भइरहेको छ ।

गुल्मीसहित आसपासका क्षेत्रमा तीन दिनदेखि निरन्तर रूपमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण बडिगाड खोला र कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ । बाढी र पहिरोको जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.