KhojSansar

नेपाल पर्वतारोहण सङ्घमा गुरुङ समूहको उम्मेदवारी घोषणा

Khoj Sansar News

काठमाडौँ, २९ साउनः पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को नयाँ कार्यसमितिका लागि कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घको आगामी भदौ ७ गते काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको हो । धादिङ रुविभ्यालीका गुरुङ विगत ३३ वर्षदेखि पर्वतीय पर्यटन व्यवसायमा आवद्ध हुनुहुन्छ । उहाँ यसअघि एनएमएको महासचिव भएर काम गरिसक्नुभएको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डिमा डिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, सदस्य पदमा पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक तामाङले उम्मेदवारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार गुरुङले सुरक्षित, जिम्मेवार दिगो हिमाली पर्यटनको विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई विश्वमाझ ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो ।

उहाँले हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने, नयाँ पुस्तालाई पर्वतीय तालिम प्रदान गर्ने, संस्थागत पारदर्शीता कायम राख्ने बताउनुभयो । यस्तै, वार्षिक रुपमा अन्तरराष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने, विश्व मञ्चमा नेपालको हिमाल ‘ब्राण्डिङ’ गर्ने, लगायतका कार्यक्रम आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।

त्यस अवसरमा नेकपा एमालेका स्थायी समिति सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यले जलवायु परिवर्तनका कारण हिमाल जोगाउन कठिन भइरहेको अवस्थामा अहिलेको मुख्य मुद्दा हिमालको संरक्षण भएको बताउनुभयो । उहाँले वर्तमान बन्दै गरेको पर्यटन नीतिले नेपालको पर्यटन क्षेत्रत्रको समस्या समाधान नहुने उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पाले नेपालको पर्वतारोहण क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने नेतृत्व पर्वतारोहण सङ्घमा आवश्यक रहेकाले उक्त कार्य गुरुङ समूहको नेतृत्वबाट सम्भव हुने दाबी गर्नुभयो ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं कोशी प्रदेशकी पूर्वमन्त्री रचना खड्का, कांग्रेसका नेता एवं ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष रमेश धमला, नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष सन्तवीर लामालगायतले मुलुकको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र भएकाले यसलाई जोगाउन जरुरी रहेको बताउनुभएको थियो । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.