KhojSansar

गुल्मीदेखि सातामा चार पटक हवाई उडान सुरु

Khoj Sansar News

गुल्मी, २९ कात्तिकः रेसुङ्गा विमानस्थलदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले २७ गतेदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताउनुभयो ।

नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो । सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे हवाई उडान गर्दै आएको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ ।

रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.