KhojSansar

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

KhojSansar News

काठमाडौँ, ६ पुस : नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।    
    
 भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।    
    
 “तपाईंले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन उल्लेखनीय भूमिका खेल्नुभएको छ”, बिदाइ भेटका सन्दर्भमा अध्यक्ष दाहालले भन्नुभयो, “जहाँ रहे पनि तपाईलाई असल मित्रका रुपमा सम्झिनेछौँ ।”    
    
 सन् २०२५ नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वर्ष भएका अवसरमा विभिन्न कार्यक्रम भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले त्यस्ता केही कार्यक्रममा आफू पनि सहभागी भएको जानकारी दिनुभयो ।    
    
 सो अवसरमा चिनियाँ राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाल चीनको एक असल छमेकी मित्रराष्ट्र रहेको र सदैव दुई देशले एकअर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात गरेको बताउनुभयो ।    
    
 राजदूत सोङले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आवश्यक सहयोग गर्न चीन तयार रहेको पनि बताउनुभयो ।    

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.