KhojSansar

सल्यानका मतदाता भन्छन्– समृद्धिका कुरा पछि, पहिले पानी चाहियो

Khoj Sansar News

सल्यान, ११ फागुन २०८२ । सल्यानका गाउँगाउँमा राजनीतिक दलका झन्डा हावामा फर्फराइरहेका छन्, माइकबाट चुनावी भाषणहरू घन्किरहेका छन् । नेताहरू विकास, समृद्धि र परिवर्तनका सपना बाँडिरहेका छन् । तर ग्रामीण बस्तीमा बस्ने नागरिकका लागि चुनावभन्दा चासो पानीको छ ।

देशभर ‘एक घर, एक धारा’को अवधारणा अघि बढिरहेको बेला कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका कोट, बयाले, पोखरा, आरिचौर, ढुंगेकटेरीलगायत बस्तीका नागरिकले अहिलेसम्म पनि खानेपानीकै दु:ख भोगिरहेका छन् । पानीकै लागि घण्टौँ लगाएर गाग्री बोकेर हिँड्नुपर्ने अवस्था छ ।

त्यसैले स्थानीय बासिन्दाहरू यसपटकको निर्वाचनमा समृद्धिका नारा लगाउनेभन्दा पनि आधारभूत आवश्यकता पूरा गरिदिने उम्मेदवार छनोट गर्ने योजनामा छन् । उनीहरूको नारा एउटै छ ‘पानी ल्याउनेलाई मात्र भोट ।’

सात दशक पार गरिसकेकी कोटकी चित्रकुमारी बस्नेतले अहिलेसम्म थुप्रै नेताले पानीको आश्वासन दिए पनि पूरा नगरेको गुनासो गर्छिन् ।  बिहान तीन बजे उठेर पानी लिन खोला जानुपर्छ । एक गाग्री पानी बोकेर फर्किंदा बिहान आठ बजिसक्छ । पालो नपाए झन् धेरै समय लाग्छ,’ उनी भन्छिन्, ‘पिउने पानी छैन, तरकारी लगाउने र गाईवस्तुलाई खुवाउने कुरा त सपना मात्रै हो ।’ वर्षौंअघि बनाइएका शौचालय पनि पानी अभावले प्रयोगविहीन छन् । पाहुना आउँदा लाज लाग्ने अवस्था रहेको उनी बताउँछिन् ।

कोटकै सेती रावतको पीडा पनि उस्तै छ । पानीको अभावले महिलाहरूको जीवन झन् कष्टकर बनेको उनी बताउँछिन् । ‘बर्खामा आकाशे पानी संकलन गरेर काम चलाइन्छ, तर अन्य समयमा मूल र खोलामै निर्भर रहनुपर्छ,’ उनी भन्छिन्, ‘डोकोमा गाग्री बोकेर पानी ल्याउँदा स्वास्थ्य समस्या देखिन थालेका छन् । बालबालिकाको पढाइभन्दा बढी समय पानी बोक्नमै बित्छ ।’

पानीकै अभावमा बसाइँसराइ

पानीकै अभावका कारण गाउँ छोड्नेहरूको संख्या पनि बढ्दो छ । स्थानीय कमला रावतका अनुसार पछिल्लो दस वर्षमा कोट गाउँका ४६ घरमध्ये झण्डै ३० घर परिवार बसाइँसराइ गरेर गइसकेका छन् ।

‘कसैले घरजग्गा बेचे, कसैले त्यसै छाडेर हिँडे । जग्गा मात्र भएर के गर्नु, पानी छैन भने गाउँ बस्न सकिँदैन,’ उनले भनिन् ।

यस गाउँमा खानेपानीको समस्या समाधान गर्न ५ वर्षअघि २०७६ सालमा एक करोड ३१ लाख लागतमा बयालेकोट लिफ्ट खानेपानी योजना सुरु गरिएको थियो । तर योजना अहिलेसम्म अलपत्र अवस्थामा छ । अधुरा ट्यांकी र यत्रतत्र छरिएका पाइप बेवारिसे बनेका छन् । २४० भन्दा बढी घरमा धारा जडान गर्ने लक्ष्यसहित संघ, प्रदेश र पालिकाको संयुक्त बजेटमा सुरु भएको योजनाको काम लिफ्टबाट पानी नचढेपछि ठेकेदारले काम छाडेको दुई वर्ष भइसकेको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष गमबहादुर रावत ठेकेदारको लापरबाही र सरोकारवाला निकायको बेवास्ताका कारण योजना लथालिङ्ग भएको बताउँछन् । ‘हामीलाई समृद्धिका नारा होइन, पानी चाहिएको हो,’ रावत भन्छन्, ‘पानी दिने ग्यारेन्टी नभएसम्म भोटको कुरा हुँदैन ।’

कालिमाटीको यो बस्ती एउटा उदाहरण मात्रै हो । सल्यान जिल्ला अधिकांश क्षेत्रको समस्या यही छ । बनगाड कुपिण्डे नगरपालिका ३, खरिकका रुद्रबहादुर पुनले पनि हरेक निर्वाचनमा खानेपानीकै माग गर्दै आएको बताउँछन् । ‘चुनावका बेला घर–घर आएर बाचा गर्छन्, जितेपछि फर्केर हेर्दैनन्,’ उनी भन्छिन् ।

यस क्षेत्रका करिब दुई सय परिवारको साझा समस्या यही हो ।  डाँडाका मुहान सुक्दै गएपछि आज पनि नागरिकहरू एक गाग्री पानीका लागि घण्टौं हिँड्न बाध्य छन् ।

वर्षौंदेखि लिफ्ट खानेपानी योजनाको माग भइरहे पनि करिब चार करोड लागत लाग्ने डीपीआर कागजमै सीमित छ । बजेट व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबाट चासो नदेखिएको स्थानीयको गुनासो छ ।

सल्यानका ग्रामीण बस्तीमा चुनावी नारा र भाषणहरू बदलिँदै गए पनि नागरिकको दैनिकी भने कष्टकर छ । पानीकै अभावले पुस्तौँदेखि जीवन कठिन बनेको छ । आश्वासन सुन्दै उमेर बित्यो, तर घरघरमा धारा आउने सपना अझै पूरा भएको छैन । यही पीडाले यसपटक नागरिकहरू नाराभन्दा काम खोजिरहेका छन् । ‘बिहान तीन बजे उठेर पानी लिन खोला जानुपर्छ । एक गाग्री पानी बोकेर फर्किंदा बिहान आठ बजिसक्छ । पालो नपाए झन् धेरै समय लाग्छ,’ स्थानीय चित्रकुमारी भन्छिन्, ‘पिउने पानी छैन, तरकारी लगाउने र गाईवस्तुलाई खुवाउने कुरा त सपना मात्रै हो ।’-अमृत बाबु बुढाथोकी

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.