KhojSansar

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास कति प्रभावकारी होला ?

Khoj Sansar News

काठमाडौं, २३ चैत २०८२ । अमेरिका-इरानयुद्ध र त्यसबाट सिर्जिन इन्धन संकटको अवस्थामा सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ ।

हप्ताको छ दिनको साटो पाँच दिन कार्यालय खुल्ने तर अवधि भने लम्ब्याउने रणनीतिका साथ सरकारले आज (सोमबारदेखि) नै लागू हुने गरी कार्यालय समय परिवर्तन र सार्वजनिक विदाको घोषणा गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, शैक्षिक संस्थाबाहेक अरुका हकमा उक्त कार्यालय समय लागू हुनेछ । उनले भने, ‘शैक्षिक संस्था बाहेक कार्यालय समय बिहान ९ देखि बेलुकी ५ बजेसम्म कायम गरिएको छ ।’

नेपालमा सार्वजनिक र सेवा क्षेत्रमा सातामा ४० घण्टासम्म काममा लगाउने अभ्यास चलिरहेको छ । अहिले दैनिक ७ घण्टा र शुक्रबार ५ घण्टा गरी ४० घण्टा कार्यालय समय तोकिएको थियो । अब भने दैनिक ८ घण्टाका दरले पाँच दिन काम गरे हुने व्यवस्था गरिएको हो ।

सरकारले निर्णय गरेसँगै देशभरका न्यायालयहरुले पनि सोमबारदेखि विहान ९ बजे नै कार्यालय खुल्ने सूचना निकालेका छन् । सुरक्षा निकाय र त्यहाँबाट हुने औपचारिक कामकारबाहीको समयतालिका पनि अब बदलिनेछ । सेवामूलक निजी क्षेत्रले पनि समय तालिका परिवर्तन गर्नेछन् ।

तर, शैक्षिक निकायहरुको बारेमा भने स्पष्ट खाका आइसकेको छैन । अनौपचारिक प्रकृतिको श्रम खपत गर्ने क्षेत्रमा हुने समय व्यवस्थाको टुंगो लागिसकेको छैन ।

तीन दशकमा दोस्रो प्रयास

२०५६ सालयताका अभ्यास हेर्ने हो भने नेपालमा दुई दिन सार्वजनिक बिदा दिने घोषणा भएको यो तेस्रोपटक हो । यसअघिका दुई अभ्यास भने विभिन्न कारणले कार्यान्वयन हुन सकेनन् ।

२०४८ सालको प्रशासन सुधार आयोगले कर्मचारीहरुको कामको प्रभावकारिता बढाउन र ट्राफिक व्यवस्थापन गर्न सातामा पाँच दिन कार्यालय समय तोक्नुपर्ने सुझाव दिएको थियो । कांग्रेस नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले २०५६ सालमा यो खालको अभ्यास गरेको थियो ।

१ साउन, २०५६ बाट सुरु भएको दुई दिन बिदाको अभ्यास काठमाडौं उपत्यकामा मात्रै लागू भएको थियो । त्यतिबेला दुई दिने बिदाको अवधारणा सेवा प्रवाह र सेवाग्राहीको सहजताका लागि कार्यान्वयन गरिएको थियो । त्यतिबेला करिब दुई वर्ष दुई दिने बिदाको अभ्यास कार्यान्वयन भयो ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला २०७९ सालमा दोस्रोपटक दुई दिन विदाको अभ्यास फेरि सुरु भयो । १ जेठ, २०७९ मा देउवा सरकारले बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म कार्यालय खुल्ने अभ्यास गराएको थियो ।

व्यापार घाटा भएको र नेपालमा विदेशी मुद्राको सञ्चिति कम भएका बेला सुरु गरिएको त्यो अभ्यासको उद्देश्य इन्धनको खपत घटाउनु थियो । करिब एक महिनामै त्यतिबेलाको अभ्यास कार्यान्वयन हुन सकेन ।

संकट समाधानको बाटो

अरु मुलुकहरुले दुई दिनको बिदालाई वर्षौंदेखि अंगिकार गरे पनि नेपालमा भने यसलाई संकट समाधानको उपायको रुपमा अवलम्बनको प्रयास गरेको देखिन्छ । इन्धन संकट, ट्राफिक जामको समस्या बढेमा मात्रै समाधानका लागि नेपालमा दुई दिने बिदाको अवधारणा कार्यान्वयनमा ल्याउने गरिएको छ ।

पर्यटन मन्त्रालयले २०७७ सालमा कोरोना महामारीपछि थलिएको अर्थतन्त्रलाई उकास्न र मुलुकको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न दुई दिन सरकारी बिदा दिनेबारे अध्ययन र गृहकार्य थालेको थियो । त्यतिबेला पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको नेतृत्वमा बनेको कार्यदलले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको थियो ।

प्रतिवेदन अनुसार, त्यतिबेला १२७ देशमध्ये ११५ देशमा हप्तामा दुई दिन विदा हुन्थ्यो । ९१ प्रतिशत मुलुकमा सातामा दुई दिन विदा हुने गरेको थियो । प्राय: मुलुकहरुले साप्ताहिक कामको अवधि ४० घण्टा वा त्यो भन्दा कममा सीमित गरेका थिए ।

मुलुकमा एकात्मक व्यवस्था भएका बेला सेवाग्राही दुर्गमबाट सदरमुकाम जानुपर्ने र काम नभएमा २/३ दिन बस्नुपर्ने भए पनि अहिले भने अधिकांश सेवा स्थानीय तहको केन्द्रमा उपलब्ध हुने गरेको छ ।

त्यही अवस्था देखाउँदै अध्ययन समितिले दुई दिन सार्वजनिक बिदा दिंदा सेवाग्राहीहरू विगतमा झै मर्कामा नपर्ने निष्कर्ष निकालेको थियो । अध्ययन समितिले २०७७/७८ को बजेटको व्यवस्थालाई आधार मानेर दुई दिन सार्वजनिक बिदाले हुनसक्ने खर्च कटौतीको अनुमान गरेको थियो । वार्षिक रुपमा एक अर्ब ६५ लाख रुपैंया बचत हुनसक्ने समितिको दाबी थियो ।

आन्तरिक पर्यटनमा टेवा

आन्तरिक पर्यटनलाई हुनसक्ने टेवाको कोणबाट गरिएको त्यतिबेलाको अध्ययनले दुई दिनको बिदाबाट पारिवारिक तनाव कम हुने, पर्याप्त आराम र मनोरञ्जनले उत्पादकत्व बढ्ने र मुलुकको आन्तरिक पर्यटनलाई टेवा पुग्ने निष्कर्ष निकालेको थियो ।

निजामती, सैनिक, प्रहरी, सरकारी र निजी विद्यालयका शिक्षक एवं सस्थानका कर्मचारी गरी करिव पाँच लाखले दुई दिन बिदा पाँउदा उनीहरुमा आश्रित २५ लाख मानिसहरुले पारिवारिक समय पाउन अध्ययनको निचोड थियो । तीमध्ये आठ लाखमात्रै घर नजिकै घुम्न निस्कदा आन्तरिक पर्यटनमा टेवा पुग्ने र त्यसले मुलुकको अर्थतन्त्र चलायमान हुने अध्ययनको अनुमान थियो ।

अध्ययन समितिले दुई दिनको बिदाले मूख्य रुपमा तीनवटा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने दावी गरेको थियो । आर्थिक रुपमा कर्मचारी, कार्यालय र संस्थानहरुको उत्पादकत्व बढ्ने निष्कर्ष सहित अध्ययन समितिले दुई दिने बिदाले खर्च कटौतीमा सहयोग हुने निष्कर्ष निकालेको थियो ।

त्यसबाट आन्तरिक पर्यटनलाई टेवा पुग्ने अनि लैंगिक समानताका साथै पारिवारिक जीवनको सहज हुने उसको दावी थियो । अध्ययन समितिले आफ्नो सिफारिसमा भनेको थियो, ‘सार्वजनिक निकायहरुमा हप्तामा दुई दिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिब रहेको व्यवहोरा यो समिति सिफारिस गर्दछ ।’

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.