कालिगण्डकी गाउँपालिकाले सार्वजनिक गर्यो ५७ करोडको बजेट : मिसन रोजगारी र जनजीविकामा केन्द्रित नीति तथा कार्यक्रम पारित
गुल्मी, १० असार २०८२ – गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५७ करोड २ लाख ६३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्दै आगामी वर्षका लागि व्यावहारिक, उद्देश्यपरक र जनमुखी नीति तथा कार्यक्रमहरू पारित गरेको छ । गाउँपालिका अध्यक्ष वेद बहादुर थापाको अध्यक्षतामा सम्पन्न १७ औं अधिवेशन मार्फत प्रस्तुत नीति तथा कार्यक्रमहरूमा गाउँसभा सदस्यहरूको सुझावलाई समेट्दै आवश्यक संशोधनसहित पारित गरिएको हो । प्रस्तावित कुल बजेटमध्ये चालु खर्चतर्फ ३८ करोड ३४ लाख २० हजार (६७.२३%) र पूँजीगत खर्चतर्फ १८ करोड ६८ लाख ४३ हजार (३२.७७%) रकम विनियोजन गरेको छ । चालु खर्चको उच्च हिस्सा सेवा प्रवाहको निरन्तरता र प्रशासनिक दक्षता अभिवृद्धिमा केन्द्रित गरिएको बताइएको छ भने पूँजीगत खर्च ग्रामीण पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र खानेपानीका आयोजनाहरूमा लगानी हुने ।
गाउँपालिकाले यस वर्षका लागि अगाडि सारेका नीति तथा कार्यक्रमहरू विशेषतः रोजगारमुलक र उद्यमशिलता आधारित, दिगो कृषि र पशुपालन प्रवर्द्धन, अधुरा योजनाहरूको पूर्णता, सुरक्षित खानेपानी र सरसफाइ, पर्यटन, गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा तथा मुख्य सडक स्तरोन्नति जस्ता व्यवहारिक पक्षमा केन्द्रित देखिएको छ । कालिगण्डकी गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष रेशमराज न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने बजेट वक्तव्य उपाध्यक्ष मञ्जु कुमारी दर्लामीले सार्वजनिक गरेकी थिइन् ।
कालिगण्डकी गाउँपालिकाको १७ औं गाउँसभा केवल बजेट पारित गर्ने औपचारिकता मात्र बनेन; यो अधिवेशन जनप्रतिनिधिको सक्रियता, नागरिक समस्या प्रतीको संवेदनशीलता र योजनाको व्यावहारिक कार्यान्वयनमा केन्द्रित दृष्टिकोणसहित सम्पन्न भएको महत्वपूर्ण मोडको रूपमा चिनिएको गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले वताउँदै अहिलेको बजेट मिसन रोजगारीः दिगो रोजगारी र उद्यमशिलता प्रवर्द्धन अभियानमा केन्द्रीत हुने कुरामा जोड दिँदै गाउँपालिकाको १७ औं अधिवशन तथा गाउँसभा सम्पन्न भएको घोषणा गरेका थिए ।