गुल्मी, १८ असार २०८२ – ‘चेतना, सीप र नेतृत्व विकासमार्फत सशक्त समुदाय निर्माण’ भन्ने मूल नाराका साथ नेपाल मगर संघ कालिगण्डकी गाउँपालिका वडा नं. ३, जयखानीको आयोजनामा तथा कालिगण्डकी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्नदुई दिनेआदिवासी जनजाति क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमप्रभावकारी रूपमा ६० जना महिला तथा युवायुवातीहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ । कालिगण्डकी गाउँपालिकाको सभाहल, कनौटामा सम्पन्न उक्त प्रशिक्षणले आदिवासी समुदायभित्रको चेतनास्तर, सीप विकास, उद्यमशील सोच र प्रविधिको पहुँच विस्तारमा नयाँ ऊर्जा थपेको छ । कार्यक्रमको उद्घाटन कालिगण्डकी गाउँपालिका अध्यक्ष श्री वेद बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो भने अध्यक्षता वडा नं. ३ का वडाध्यक्ष क्या. रुप बहादुर श्रीसले गरेका थिए ।
उक्त कार्यक्रममा विषयगत क्षेत्रमा गहन छलफल तथा अन्तर्क्रियात्मक विधिद्वारा प्रशिक्षण गरिएको थियो । प्रशिक्षणमा विभिन्न विषयवस्तुमा अनुभवी र स्थापित प्रशिक्षकहरूले सहभागिहरूसँग अन्तरक्रिया गर्दै व्यवहारिक ज्ञान प्रदान गरेका थिए । प्रशिक्षणका पाँचवटै सत्र समसामयिक, समुदायप्रासंगिक र प्रेरणादायी रहेका थिए ।
आदिवासी युवा र उद्यमशीलता – आशिष गुरुङ, खेमा एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा.लि.का सञ्चालक आशिष गुरुङले युवाहरूमा नवाचार र आत्मनिर्भरता जगाउने उद्देश्यले ‘उद्यमशीलता र नेतृत्व विकास’ विषयमा प्रस्तुति दिएका थिए । उनले स्थानीय स्रोतसाधनको प्रभावकारी प्रयोग, स्टार्टअप सोच, बजारको विश्लेषण, उत्पादन र सेवा प्रवर्द्धन, नवप्रवर्तन र जोखिममा आधारित सोचजस्ता महत्वपूर्ण पक्षहरूबारे व्यवहारिक प्रशिक्षण दिए ।
महिला सशक्तिकरण – राधिका श्रीस, नेपाल मगर संघ रुपन्देहीकी सचिव राधिका श्रीसले “आदिवासी महिला सशक्तिकरण”को प्रसंगमा महिलाको भूमिका, सीप विकास, आर्थिक आत्मनिर्भरता, नेतृत्व क्षमता र सामाजिक न्यायप्राप्तिको बहस उठाइन् । उनले समावेशी नीति निर्माणमा महिलाको पहुँच सुनिश्चित गर्ने सवालमा विशेष जोड दिएकी थिइन् ।
आदिवासी जनजाति सचेतना – छन्द बहादुर पहराई, नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द बहादुर पहराईले “आदिवासी जनजाति चेतना” शिर्षकमा नेपालको संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार, राज्य संरचनामा समावेशी पहुँच, ऐन–कानून तथा व्यवहारमा देखिएको असमानता र चुनौतीहरूबारे विश्लेषण गरेका थिए । उनको प्रशिक्षणले सहभागिहरूमा संवैधानिक अधिकारप्रति गहिरो जागरुकता थपेको थियो ।
सूचना प्रविधि – ई. ओम बहादुर थापा, कालिगण्डकी गाउँपालिकाका सूचना प्रविधि इन्जिनियर ओम बहादुर थापाले ‘डिजिटल पहुँच र प्रयोग’ विषयमा प्रशिक्षण दिँदै इन्टरनेट, सामाजिक सञ्जाल, एआई, डिजिटल कारोबार, अनलाइन शिक्षा र प्रविधिमा आधारित उद्यमका सम्भावनाबारे व्यवहारिक उदाहरणसहित जानकारी गराएका थिए । २१ औं शताब्दीमा युवा र सूचना प्रविधिको प्रयोग विना देश निर्माण सम्भव नभएको समेत आफ्नो प्रस्तुतिमा वताए ।
भाषा, धर्म र संस्कृतिको संरक्षण – नारायण गाहा, वरिष्ठ मगर भाषाविद् नारायण गाहाले मगर समुदायको मौलिक पहिचान, लोपोन्मुख संस्कार, धर्म र भाषा संरक्षण सम्बन्धी विषयमा भावनात्मक तथा तथ्यपरक प्रस्तुति दिएका थिए । उनले भाषा संरक्षणको अभियानलाई नीतिगत प्राथमिकता दिनुपर्ने र यसमा समुदाय स्वयंको सक्रियता अपरिहार्य रहेको बताए ।
कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष लाल बहादुर राना मगर, जिल्ला समन्वय समिति गुल्मीका सदस्य शेर बहादुर विश्वकर्मा, नेपाल मगर संघ कालिगण्डकी अध्यक्ष भविन्द्र राना, नेपाल मगर महिला संघ कालिगण्डकी अध्यक्ष कल्पना पुन, पूर्व वडाध्यक्ष हेमचन्द्र बुढालगायत विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य मनोहर श्रीसले राखेका थिए भने सञ्चालन पुरन राजकोटी मगरले गरेका थिए । कार्य्रमको अन्त्यमा सम्पूर्ण सहभागिहरुलाई प्रमाणपत्र वितरण समेत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष थापाले आफ्नो मन्तव्यमा भने, “सशक्तिकरणको प्रक्रिया सोच, शिक्षा र सीपबाट सुरु हुन्छ । हामी यस्ता कार्यक्रममार्फत समुदायमा दीर्घकालीन रुपान्तरणको आधार तयार गर्दैछौं ।” सामाजिक न्याय, समान अवसर र सांस्कृतिक पहिचानको सुनिश्चितता बिना कुनै पनि समुदायको समुन्नति सम्भव छैन । आदिवासी जनजाति समुदाय, असाधारण परम्परा, गौरवशाली संस्कृति र गहिरो सामुदायिक मूल्यमा आधारित छ, त्यो आजको बदलिँदो युगमा सोच, सीप र सम्भावनाको पुनराविष्कार गर्न अपरिहार्य भएको छ ।
सहभागीको अनुभव : आशा, चेतना र प्रतिबद्धताको समिश्रण
कार्यक्रममा सहभागी युवा, महिला तथा अन्य सरोकारवालाहरूले यो प्रशिक्षणले उनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र भविष्यप्रति स्पष्ट दृष्टिकोण विकास गरेको प्रतिक्रिया दिएका थिए । सहभागी हिरा थापाले भनिन्, “ यस्तो कार्यक्रममा सहभागी हुन पाएकोमा गर्व लागेको छ । मैले सिकेका कुरा आफ्ना साथीहरूसँग पनि बाँड्नेछु ।”
त्यस्तै अर्का सहभागि वासुदेव श्रीसले भने, “अब म व्यवसाय सुरु गर्ने योजना बनाउँदै छु । यो प्रशिक्षणले मलाई मार्गदर्शन मात्र होइन, प्रेरणा पनि दियो ।”
नेपाल मगर संघद्वारा सञ्चालित यो दुई दिने प्रशिक्षण कार्यक्रमले आदिवासी जनजाति समुदायमा चेतना, सशक्तिकरण र सहभागिता विस्तारमा उल्लेखनीय टेवा पुर्याएको छ । प्रशिक्षणपछि सहभागीहरूले केवल जानकारी बटुलेनन्, उनीहरूमा सामाजिक उत्तरदायित्वबोध र व्यवहारिक योजनाको बीजारोपणसमेत भएको देखिएको छ । यस्तो कार्यक्रमले स्थानीय नेतृत्व विकास, समावेशी नीति निर्माण, महिला सहभागिता र युवा उद्यम प्रवर्द्धनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ । स्थानीय सरकार, संघसंस्था र समुदायबीचको सहकार्यमा आधारित यस्ता कार्यक्रमहरू दिगो विकास र सांस्कृतिक पहिचानको संरक्षणका लागि प्रेरक माध्यम बन्ने निश्चित छ ।