गुल्मी, २१ असार २०८२ – कालिगण्डकी गाउँपालिका, गुल्मी र गोर्खा वेल्फेयर ट्रष्ट (GWT) बीचको सहकार्यमा स्थानीयस्तरमा दीर्घकालीन प्रभाव पार्ने एक महत्वपूर्ण पूर्वाधार परियोजना – झिर्बास सिरानधारा खानेपानी तथा सरसफाई आयोजनाको औपचारिक हस्तान्तरण सम्पन्न भएको छ । ५० लाखभन्दा बढी लागतमा सम्पन्न भएको यस आयोजना अन्तर्गत “एक घर, एक धारा” को दृष्टिकोणसहित प्रत्येक घरधुरीमा सुरक्षित, नियमित र सहज रुपमा खानेपानी पुगेको छ । २०८१ सालमा प्रारम्भ गरिएको “एक घर, एक धारा” अभियान अन्तर्गत कालिगण्डकी गाउँपालिकाले वडास्तरमा खानेपानी तथा सरसफाई पूर्वाधार सुदृढीकरणको महत्त्वपूर्ण रणनीति तय गरेको थियो । त्यही रणनीति अनुसार वडा नं ७ स्थित झिर्बास सिरानधारामा दीर्घकालीन तथा गुणस्तरी खानेपानी आयोजना सञ्चालन गरिएको हो । आयोजनाको अनुमानित लागत रु. ४८,५३,८५३.०२ भएता पनि यसले पारदर्शी, प्रभावकारी र प्रतिबद्ध कार्यान्वयनमार्फत रु. ४९,८३,१९३.९६ मा सम्पन्न भएको छ । मिति २०८१/१२/२७ मा सुरु गरिएको आयोजना २०८२/३/११ मा निर्धारित समयमै सम्पन्न भएको हो । आयोजना सम्पन्न भएसँगै यसले ३८ घरधुरीका १७२ उपभोक्ताहरुलाई प्रत्यक्ष लाभ पुर्याएको छ ।
झिर्बास सिरानधारा खानेपानी तथा सरसफाई आयोजनाको व्यवस्थापन, अनुगमन तथा कार्यान्वयनको अग्रपंक्तिमा रहेको थियो – उपभोक्ता समितिका अध्यक्ष छुन्न प्रसाद आचार्यको नेतृत्वमा उपभोक्ताहरूको सक्रिय सहभागिता र समर्पणले आयोजना समयमै सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अध्यक्ष आचार्यले गरेका थिए भने प्रमुख आतिथ्यता कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाले गरेका हुन । थापाले आफ्नो मन्तव्यमा ग्रामीण भेगमा खानेपानीजस्तो जीवनोपयोगी पूर्वाधारको सुदृढीकरणले स्थानीयवासीको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने र यस प्रकारका आयोजना आगामी दिनमा पनि प्राथमिकतामा रहने बताउँदै कृषि तथा फलफुल उत्पादन संग जोडिन उपस्थित सबैलाई उत्प्रेरित गरेका थिए ।
गोर्खा वेल्फेयर ट्रष्टका प्रतिनिधि तथा आयोजना प्रबन्धक देवेन्द्र कुमार चेम्जोङले खानेपानीको अधिकारलाई जीवनको अधिकारसँग जोड्दै GWT ले भविष्यमा पनि स्थानीय सरकारसँग सहकार्य गर्दै समावेशी र समुदायमुखी परियोजनामा लगानी गर्दै जाने वताए । कालिगण्डकी गाउँपालिका र गोर्खा वेल्फेयर ट्रष्टको साझेदारीले स्थानीय विकासको नमुना स्थापनामा एउटा नवीन अभ्यास प्रस्तुत गरेको समेत व्यक्त गरे ।
उक्त हस्तान्तरण कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष रामकुमार क्षेत्री, वडा नं. ७ का अध्यक्ष घनश्याम थापा, वडा सदस्य हरिबहादुर गुरुङ, जित बहादुर थापा, मोमबहादुर छन्त्याल, आशिष गुरुङ, जोगमल शाही, नवराज क्षेत्री, हरिलाल आचार्य, कृष्णनन्द आचार्य, विष्णुबहादुर क्षेत्री लगायत उपभोक्ता समितिका पदाधिकारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
