KhojSansar

सिञ्जा गाउँपालिकाद्वारा एक हजार ५०० घरको बिमा

Khoj Sansar News

जुम्ला, १५ साउनः यहाँको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार ५४५ घरको बिमा गरेको छ । पालिकाका छवटै वडामा दुईजना तथ्याङ्क सङ्कलन गर्ने कर्मचारी परिचालन गरी सङ्ख्या निर्धारणसहित घर बिमा गरिएको हो ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बिमा कार्यक्रममार्फत सिञ्जाका एक हजार ५४५ घरको बिमा गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

प्रदेश सरकारको गत आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत ‘घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि–२०८१’ मन्त्रिपरिषद्बाट गत फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको हो । उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई घरको मूल्याङ्कन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित पठाएको विवरणअनुसार सिञ्जाले तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गरेपछि छनोटमा परेको अध्यक्ष धितालले बताउनुभयो ।

कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर रु २३ लाखको बिमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बिमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बिमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका परिवारले क्षतिपूर्ति पाउनेछन् ।

एक परिवारका लागि एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिनुभयो । घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको जनाउँदै उहाँले चालु आवमा बिमाका लागि प्रदेश सरकारले रु चार करोड ७५ लाख बजेट छुट्याएको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बिमा गरेको प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । चालु आव २०८२/८३ मा विपद् बिमाका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । -रासस

सम्बन्धित समाचारः

  • ‘विश्व भोकमरी सूचाङ्क-२०२५’ को प्रतिवेदन सार्वजनिक

  • सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

  • महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

  • धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

  • लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.