KhojSansar

पर्यटकीयस्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

Khoj Sansar News

भोजपुर, २६ साउनः यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् ।

वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षरोण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्नेलगायतको काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । यो पर्यटकीय क्षेत्रको विकासमा स्थानीय एकजुट भएर लागेको उहाँको भनाइ छ ।

“श्रमदानबाट गङ्गा खोलाको संरक्षण गरिरहेका छौँ”अध्यक्ष आर्चायले भन्नुभयो,“मानिसको आवतजावतलाई सहज बनाउन बाटो मर्मत गर्ने बिरुवा रोप्ने, झाडी हटाउने लगायतका काम गरिरहेका छौँ ।” गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तर तर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचर्यले बताउनुभयो । यो क्षेत्रको विकासको लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले श्रमदानसँगै केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ ।

गोल्मे–गङ्गा पर्यटन प्रवद्र्धन समितिको संयोजन र वडाको पहलमा श्रमदान अभियान सञ्चालन भइरहेको अध्यक्ष आचार्यले बताउनुभयो । गत वर्षबाट नै श्रमदानमार्फत यहाँ काम गर्दै आएको उहाँको भनाइ छ । प्रत्येक हप्ताको शनिबारको दिन गङ्गा खोलामा श्रमदान हुँदै आएको छ । गङ्गा खोलाको समग्र विकास, पर्यटन प्रवद्र्धन र संरक्षणको लागि वडाको निर्णय अनुसार संरक्षण श्रमदान भइरहेको छ ।

वडाका स्थानीयबासी एकजुट भएर गङ्गा खोलाको संरक्षण गरिरहेको गोल्मे–गङ्गा पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिनुभयो । ढुङ्गाको कापबाट उम्रिएका तीन वटा पानीको ठूला मुहान रहेको यो स्थानमा दर्शन गरे मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजनहरु आउने अध्यक्ष राईले जानकारी दिनुभयो ।

अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीयस्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उहाँको भनाइ छ । स्थानीयस्तरबाट यहाँको संरक्षणको काम थालिएको उहाँले जानकारी दिनुभयो । यहाँको पानीले नुहाएमा छालाको रोग निको हुने तथा कुनै पनि पुण्य कर्ममा चढाउने चलन रहेको उहाँले जानकारी दिनुभयो । यहाँ माघे सङ्क्रातिमा भव्य मेला लाग्ने गरेको छ । -रासस

सम्बन्धित समाचारः

  • सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

  • महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

  • धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

  • लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

  • फेरियो लोपोन्मुख राउटेको जीवनशैली

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.