KhojSansar

धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

Khoj Sansar News

म्याग्दी, २७ साउन : म्याग्दीको धवलागिरि गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर छ सय जना भन्दाबढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ ।

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहर झरेका थिए । घुम्ती शिविरबाट छ सय २३ जनाले सेवा लिएका धवलागिरि गाउँ कार्यपालिकाको प्रवक्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो ।

सोमबार र मङ्गलबार बेनीमा घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाले यसअघि साउन १८ र १९ गते काठमाडौँ, २१ र २२ गते पोखरामा आयोजना गरेको थियो । १ देखि ७ नम्बर वडाका त्रमश ः ५५, ३९, ७७, एक सय १३, एक सय ३०, एक सय २२ र ८७ जनाले शिविरबाट सेवा लिएका प्रवक्ता रोकाले बताउनुभयो ।

धवलागिरि म्याग्दीका अन्य स्थानीय तहको तुलनामा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । ज्येष्ठ नागरिक, अशक्त र अससायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारीनै सहर झरेकाले सेवा प्राप्त गर्न सहज भएको बेनीमा बस्दै आउनुभएका धवलागिरि गाउँपालिका–२ लमसुङका दिलीप शेरचनले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि सात वटै वडाका अध्यक्ष र सचिवले सहरमा पुगेर सेवा दिएका बताउनुभयो । गत आर्थिक वर्षमा धवलागिरिका दुई हजार नौ सय ३८ जनालाई रु १० करोड ५८ लाख चार हजार दुई सय ८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि धेरैले औपचारिक रुपमा बसाइसराइ गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए । -रासस

सम्बन्धित समाचारः

  • तराई र उपत्यकामा तातो दिन

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.