KhojSansar

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनमा पाहुना घर निर्माण गरिँदै

Khoj Sansar News

कञ्चनपुर, २८ साउनः पर्यटकीय गतिविधि बढाउने उद्देश्यले कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर सामुदायिक वनले पाहुना घर निर्माण अगाडि बढाएको छ । नगरपालिका र सामुदायिक वनको लागत साझेदारीमा पाहुना घर निर्माण अन्तिम चरणमा पुगेको हो ।

पाहुना घर निर्माणका लागि नगरपालिकाबाट रु तीन लाख र सामुदायिक वनबाट रु सात लाखभन्दा बढी रकम खर्च गरिएको वनका अध्यक्ष जोगराज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय शैलीमा पाँचवटा कोठासहितको पाहुना घर निर्माण भइरहेको छ । “प्रत्येक कोठामा दुई शय्यासहित अन्य आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ । दुई महिनाभित्र घर सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो ।

निर्माण सम्पन्न भएपछि सामुदायिक वन अवलोकनका लागि आउने पाहुनाबाट न्यून शुल्क लिएर बासको सुविधा उपलब्ध गराइने चौधरीले बताउनुभयो । पाहुनाको रुचिअनुसार थारु, राना थारु र पहाडी समुदायका अर्गानिक परिकारका खाना पस्किने योजना रहेको उहाँको भनाइ छ ।

“पाहुनाको मागअनुसार थारु समुदायको परम्परागत संस्कृति, रहनसहन, भेषभूषालगायत विविध पक्षबारे जानकारी दिने योजना बनाएका छौँ” अध्यक्ष चौधरीले भन्नुभयो, “अर्गानिक खानासहित परम्परागत नृत्य देखाएर पर्यटकलाई मनोरञ्जन दिने छौँ ।” उहाँका अनुसार पाहुना घर सञ्चालनका लागि कार्यविधि तयार गरिएको छ ।

पाहुनालाई वनभित्रको भ्यू टावर, पिकनिक स्थल, छ हेक्टर क्षेत्रफलमा रहेको सालको पुनःउत्पादन प्लट, १६ कट्टाको पोखरीमा डुङ्गा सयरलगायत सुविधा उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक वनसँगै जोडिएको सिंहपुरको पुरानो थारु बस्तीमा १० वटा घरमा होमस्टे (घरबास) सञ्चालन गर्ने योजना बनाइएको बताउँदै चौधरीले चालु आर्थिक वर्षमै होमस्टे दर्ता गरी औपचारिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

सामुदायिक वनलाई पर्या–पर्यटनसँग जोडेर उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले थालिएको पाहुना घर निर्माण शीघ्र सम्पन्न भई सञ्चालनमा आउने कृष्णपुर–६ का वडाध्यक्ष बाबुराम चौधरीले बताउनुभयो । पाहुना घर निर्माणका लागि वडा कार्यालयका तर्फबाट सक्दो सहयोग गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.