KhojSansar

टेम्केमैयुङमा रु तीन करोडको लागतमा पशुपक्षी सेवा केन्द्र निर्माण

Khoj Sansar News

भोजपुर, १० भदौ : टेम्केमैयुङ गाउँपालिकामा करिब रु तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो ।

सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ ।

“गाउँपालिकामा सुविधासम्पन्न कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “यसले सेवा प्रवाहमात्र होइन, अनुसन्धान र रोग नियन्त्रणमासमेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।”

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भवन निर्माणले कृषि र पशु क्षेत्रको विकासमा सहयोग पुग्ने भएकाले किसानको आर्थिक उन्नतिमा टेवा पुग्ने बताउनुभयो । आधुनिक उपकरणसहितको भवनले यहाँको कृषि–पशुपालन क्षेत्रमा देखिने रोगको खोजी तथा अनुसन्धान गरेर उपचारमा पद्धति लैजान सहज हुने उहाँको भनाइ छ । “छोटो समयमा गाउँपालिका नमूनायोग्य भवन बनेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यो भवनले गाउँपालिकाले कृषि तथा पशुपालनका क्षेत्रमा लिएको लक्ष्यलाई पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले भवनभित्र कृषि र पशु छुट्टाछुट्टै प्रयोगशाला रहेकाले रोग र कीराको पहिचान गर्न सहज हुने बताउनुभयो । भविष्यमा कुनै महामारी देखिए यही परीक्षण गरेर तत्काल कदम चाल्न सकिने अवस्था बनेको उहाँको भनाइ छ । भवन निर्माणले रोग कीराको अनुसन्धानसँगै गाउँपालिकाका नागरिकलाई सेवा प्रवाहमा सहजता भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । भवनबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउन भूमिका खेल्नुपर्ने उहाँ बताउनहुन्छ ।

आर्थिक करिडोर कार्यालय पाख्रीबासका प्रमुख डा इन्द्रनारायण शाहले भवनमा प्रयोगशालादेखि फर्निचरसम्म सबै आवश्यक उपकरण जडान भइसकेको जानकारीले दिनुभयो । भवन अपाङ्गमैत्री रहेकाले गाउँपालिकावासी किसानले यस भवनबाट कृषि र पशु रोग अनुसन्धान, उपचार र उत्पादन वृद्धिमा प्रत्यक्ष लाभ पाउने अपेक्षा लिएका छन् । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.