KhojSansar

महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो

Khoj Sansar News

पर्वत, ५ असोजः सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन गरिएको हो ।

महाशिला–३ र वडा नं ५ को सिमाना काफलडाँडामा बनेको सुविधासम्पन्न भवनवाट सेवा सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो । झण्डै रु पाँच करोडको लागतमा भवन निर्माण भएको हो । तीसवटा कोठा रहेको भवनबाट पालिकाका सबै शाखाको सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । साँघुरो र जीर्ण भवनबाट असहज रूपमा सेवा दिनुपरेकामा अब एउटै भवनवाट एकीकृत रूपमा सबै वडालाई पायक पर्नेगरी सेवा प्रवाह गर्दा नागरिक र कर्मचारी दुवैलाई सहज भएको प्रशासकीय अधिकृत पाण्डेयको भनाइ छ ।

सेवा सुरु भए पनि भवन हस्तान्तरण गर्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । जिल्लाको सबैभन्दा सानो पालिका महाशिलाका छवटै वडा कार्यालय भने बनिसकेका छन् । पालिकाको भौतिक पूर्वाधार तयार भइसकेकाले अब सडक र शिक्षामा जोड दिन थालिएको छ । पालिकाको १० शय्याको आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । बढ्दो बसाइँसराइलाई रोक्न गुणस्तरीय सडक र शिक्षालाई पालिकाले प्राथमिकतामा राखेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

योसँगै पर्वतका छवटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्न थालेका छन् । सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले बाहेक अन्य छ पालिकाले आफ्नै भवन निर्माण गरिसकेका छन् । मोदी, पैंयू, विहादी र जलजला गाउँपालिकाका आफ्नै भवन बनेका छन् । फलेवास नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । -रासस

सम्बन्धित समाचारः

  • धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

  • लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

  • फेरियो लोपोन्मुख राउटेको जीवनशैली

  • सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

  • अकबरेबाटै लाखौँ आम्दानी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.