KhojSansar

करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

Khoj Sansar News

खजुरा (बाँके), २९ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको छ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेका छन् ।

विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला सहचालक राखी सुरुआतमा उपमहानगरपालिका आफैँले सञ्चालन गरे पनि खर्च धान्न नसक्ने देखेपछि बसपार्क र सातवटा बस सञ्चालनका लागि ‘टेन्डर’ आह्वान गरिएको थियो ।

उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादुर थापाका अनुसार सातवटा बसको वार्षिक रु ५० लाख र नेपालगञ्ज बसपार्कको पार्किङ शुल्क रु ५१ लाख न्यूनतम मूल्य कायम गरी टेन्डर आह्वान भएकामा शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक रु एक करोड ३७ लाख ५१ हजारमा ठेक्का स्वीकार गरेको थियो । बस सञ्चालनमा घाटा भएपछि ठेकेदार कम्पनीले नगरबस बसपार्कमा थन्क्याएको छ ।

लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगर बस खरिद गरी राज्यको धनराशि खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरेका छन् । नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्नका लागि आएको बजेटबाट किनिएका बस अहिले थन्क्याएर राख्नु सहरकै प्रतिष्ठामा आँच आउने विषय भएको बताउनुभयो ।

“ठूलो धनराशि खर्च गरेर किनेका बस अहिले सञ्चालन गर्न सकिएन भनेर उम्कन मिल्दैन, विपन्न नागरिकको नाममा आएको बजेटबाट किनिएका बसहरू नगरवासीलाई सेवा मात्रै दिन भए पनि सञ्चालन हुनुपर्छ”, उहाँले भन्नुभयो, “करोडौँ मूल्यका नगरबस यसरी थन्क्याएर राख्नु सार्वजनिक सम्पत्तिको दुरुपयोग हो ।”

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बसपार्कमा थन्किएका नगरबसलाई पुनः सञ्चालनका लागि योजना बनिरहेको बताउनुभयो । उहाँले नगर कार्यपालिकाको आगामी बैठकमा यस विषयमा छलफल हुने र पुनः सञ्चालनका लागि निर्णय गरिने रिजालको भनाइ छ ।

सम्बन्धित समाचारः

  • गाउँपालिका द्वारा: लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

  • प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

  • तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

  • चक्रपथ निर्माण अन्तिम चरणमा

  • ‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.