KhojSansar

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

Khoj Sansar News

काठमाडौँ, २९ कात्तिकः राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’ गठन गर्न आग्रह गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय तहमा युवा परिचालन र युवा सरोकारका विषयमा काम गर्न र युवामैत्री शासनको प्रवद्र्धन गर्नका लागि स्थानीय युवा परिषद् गठन गर्न थालिएको बताउनुभयो । उहाँले स्थानीय तहमा नै युवा जनशक्तिलाई जागरुक बनाउनका लागि स्थानीय तहमा युवा परिषद् गठन गर्न थालिएको बताउनुभयो ।

उहाँका अनुसार ३६ वटा स्थानीय तहमा कार्यविधि बनाएर युवा परिषद् गठन गरिसकेका छन् । “सबै स्थानीय तहमा परिषद् गठन गर्नका लागि नमूना कार्यविधि बनाएर पठाएका छौँ । ती नमूनाका आधारमा कार्यविधि बनाएर स्थानीय तहमा परिषद् गठन हुनेछन्,” उहाँले भन्नुभयो, “चाँडै नै पालिका अग्रसर भएर परिषद् गठन हुनेछन् ।”

परिषद्ले स्थानीय तह युवा परिषद् गठनका लागि ‘स्थानीय युवा परिषद् गठन, परिचालन र युवामैत्री शासन सहजीकरण सामग्री २०८२’ (नमूना), ‘युवामैत्री शासन २०८२’ र ‘स्थानीय तह युवा क्लब गठनसम्बन्धी निर्देशिका २०८२’ (नमूना) बनाएर सबै स्थानीय तहमा पठाएको छ ।

यस्तै बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेश युवा परिषद् गठन गरिएको छ । सरकारले युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद् गठन गरेको हो ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.