KhojSansar

गाउँपालिका द्वारा: लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

KhojSansar News Kaligandaki Gulmi

गुल्मी, १७ मंसिर: “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने सशक्त नारा बोकेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कालीगण्डकी गाउँपालिका, गुल्मीको आयोजनामा पुर्तिघाटस्थित श्री जीवनोद्वोर माध्यमिक विद्यालयमा भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी,  जनप्रतिनिधि, बुद्धिजीवी समाजसेवी तथा सरोकारवालासहित करिब २०० भन्दा बढीको सहभागीता थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीम बहादुर श्रीसको अध्यक्षतामा भएको सो कार्यक्रममा लैंगिक हिंसा न्यूनीकरणको केन्द्रबिन्दु शिक्षा क्षेत्र नै हुन सक्ने धारणा बलियोसँग प्रस्तुत गर्दै अध्यक्ष श्रीसले विद्यालयले पाठ्यपुस्तकसँगै मूल्य मान्यता, नैतिक शिक्षा, व्यवहारिक ज्ञान, सूचना प्रविधिको सही सदुपयोग र सामाजिक चेतनालाई विशेष जोडदिदै  उपस्थित सम्पूर्ण विद्यार्थी बालबालिकालाई सानै उमेरदेखि सुरक्षित, समान र सम्मानजनक सम्बन्धबारे अभिप्रेरित गराएका थिए ।

गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि मञ्जु कुमारी दर्लामीले लैंगिक हिंसा केवल घरेलु सीमामा सीमित नभई डिजिटल प्लेटफर्मसम्म फैलिएको बताइन् । उनले भनिन् “सामाजिक सञ्जालको गलत प्रयोगले आज युवाहरू नयाँ प्रकारका हिंसा र दुव्र्यवहारको जोखिममा छन् । कानुन कडा छ, संरचना बलियो छ, तर सोच परिवर्तन नभएसम्म हिंसा समाप्त हुँदैन । सचेत अभिभावकत्व तथा समुदायको सक्रिय साथ बिना हिंसामुक्त समाज निर्माण असम्भव हुने धारणा व्यक्त गरेकी थिइन् ।

त्यसै गरी विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद मरासिनीले स्थानीय सरकार लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताका साथ उभिएको बताए । उनले गाउँपालिकाले सञ्चालन गर्दै आएका कार्यक्रम सशक्तिकरण, पुनःस्थापना, मनोपरामर्श तथा कानुनी सहयोग लगायतका संरचनाहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सबैलाई लैंगिक हिंसा सम्बन्धि विभिन्न निकाएका वेबसाईटहरु भिजिट गर्न समेत आग्रह गरेका थिए ।

सूचना प्रविधि अधिकृत तथा कार्यक्रमका प्रमुख प्रशिक्षक ई. ओम बहादुर थापाले प्रविधिको सदुपयोग र जोखिम व्यवस्थापनमा केन्द्रित प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न वास्तविक उदाहरण प्रस्तुत गर्दै साइबर बुलिङ, झूटा प्रोफाइल, फोटो दुरुपयोग, अनलाइन ठगी, लोभलालच तथा सामाजिक सञ्जालमा हुने मानसिक हिंसाका जोखिमबारे विस्तृत व्याख्या गरे । “मोबाइल र इन्टरनेट हाम्रो शक्ति हो, तर सावधानी बिना यही शक्ति जोखिम बन्न सक्छ,” थापाले आफ्नो प्रस्तुतिमा जोड दिए ।

साथै कार्यपालिका सदस्य मिना परियार, पुर्तिघाट प्रहरी चौकी इन्चार्ज रम बहादुर सारु, धनश्याम ढकाल, मनिशा बोहरा, देविकला शर्मा, गोपाल प्रसाद पराजुली, गोविन्द गौतम, आशा श्रीस, शिक्षक हरि श्रीस लगायतको आतिथ्यतामा भएको थियो ।  कार्यक्रमको संचालन भने गाउँपालिकाकी मनोपरामर्शकर्ता मनकुमारी रानाले गरेकी थिइन् । उक्त कार्यक्रमको संयोजक सरस्वती पुनको नेतृत्वमा व्यवस्थित र प्रभावकारी रुपमा समापन भएको थियो ।

सम्बन्धित समाचारः

  • प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

  • तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

  • चक्रपथ निर्माण अन्तिम चरणमा

  • ‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि

  • पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.