कर्णाली, १० साउनः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायको पुनःसंरचना गर्नु पर्ने आवश्यकता औँल्याउनु भएको छ । आज आयुर्वेद चिकित्सकसँगको छलफलमा उहाँले प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टिप्पणी हुन थालेको बताउँदै प्रदेश संरचनाको औचित्य सावित गर्न प्रदेशअन्तर्गतका मन्त्रालय तथा निकायको वैज्ञानिक पुनःसंरचना आवश्यकता रहेको धारणा राख्नुभयो ।
मुख्यमन्त्री कँडेलले कर्णाली सरकारले गठन गरेको मन्त्रालय तथा कार्यालयको पुनःसंरचनाको प्रतिवेदनलाई लिएर प्रदेशमा कार्यरत आयुर्वेद स्वास्थ्य चिकित्सकको सुझाव समितिको प्रतिवेदन अध्ययन भइरहेकाले यसका सकारात्मक पक्षहरू क्रमशः कार्यान्वयनमा जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रशासनिक पुनःसंरचना हुँदा हाल कार्यरत कर्मचारीको वृत्तिविकासमा बाधा पर्न नदिने विषयमा सरकार सचेत रहेको प्रष्ट्याउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारलाई बुझाइएको प्रतिवेदनलाई लिएर प्रदेशका कर्मचारी भयवित नहुनुस् । कर्णालीमा सेवा गर्न आउनु भएको छ, तपाईंहरूको वृत्तिविकासमा कुनै पनि बाधा हुने काम सरकारले गर्दैन । भयवित बनाउन खोजिएको छ, तर तपाईंहरू भयरहित भएका काम गर्नुुहोस् । प्रतिवेदनका सकारात्मक पक्षलाई क्रमशः कार्यान्वयनमा लैजाने गरी सरकारले छलफल चलाउनेछ ।”
समयको माग र आवश्कतालाई दृष्टिगत गरी ढिलो वा चाँडो पुनःसंरचना गर्नैपर्ने भएकाले यसतर्फ सबैको सहयोगको आवश्यकता रहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रदेशले अरुकोे नक्कल भन्दा आफ्नै यर्थाथता र आवश्यकताका आधारमा संरचना निर्माण, विकास र पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो । कुनैबेला व्यक्ति व्यवस्थापन गर्न मन्त्रालयको साइनबोर्ड झुन्ड्याएर विकृति भित्र्याउने काम गरिँदा त्यसले प्रदेश संंरचनाको औचित्यमाथि प्रश्न उठाएको भन्दै उहाँले अब त्यस्ता विषय पुनरावृत्ति नहुने गरी सोच्नुपर्ने बताउनुभयो । यसपटक सबैले थाह पाउन सक्नेगरी प्रशासनिक पुनःसंरचनाको प्रतिवेदनलाई सार्वजनीकरण गरिएको जनाउँदै उहाँले भन्नुभयो, “प्रतिवेदन सुझाव हो, सकारात्मक र कार्यान्यवनयोग्य विषय लिन सकिन्छ । लुकाउनुपर्ने कुनै कारण छैन । प्रदेशका संरचनालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन पुनःसंरचना गर्दा सरोकार भएकासँग बृहत छलफल गरिन्छ ।”