जेरुसलेम — यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायली सेनाले तेल अभिवबाहिर बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।
यमनस्थित हुथी विद्रोहीले शृंखलाबद्ध रूपमा इजरायली भूमिलाई लक्षित गरी आक्रमण गर्दै आएको भए पनि पछिल्लो क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन । यमनको क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण उक्त आक्रमण भएको भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन ।
प्रहरीका केन्द्रीय जिल्ला प्रमुख याइर हेज्रोनीले घटनास्थलमा प्रहरीले जारी गरेको एक भिडियोमा भनेका छन्, ‘तपाईंले हाम्रो ठीक पछाडिको क्षेत्र देख्न सक्नुहुन्छ । यहाँ धेरै चौडा र कैयौं मिटर मिटर गहिरो खाडल बनेको छ ।’
प्रहरी फुटेजमा अधिकारीहरू बगैँचामा रहेको खाल्डोको किनारामा उभिरहेको र टाढाबाट विमानस्थलको कन्ट्रोल टावर देखिन्छ । एएफपीका एक पत्रकारले जेरुसेलम र विमानस्थलमा भएको विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् ।
क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको केही समयपछि बेन गुरिओनमा विमानको आवागमन पुनः सुरू भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ । ‘अहिले विमानस्थल खुला गरी र आवागमन भइसकेको छ,’ उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
इजरायली रक्षामन्त्री इजराइल काट्जले घटनाको पुष्टि गर्दै बदला लिने चेतावनी दिएका छन् । ‘जसले हामीलाई प्रहार गर्छ, हामी उसलाई सात गुणा कडा प्रहार गर्नेछौं,’ उनले भनेका छन् ।
यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका इरान समर्थित हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड सीको पानीजहाजलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका छन् । शनिबार हुथी विद्रोही समूहले इजरायलमाथि दुई दिनमा तेस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको थियो ।
सन् २०२३ मा गाजा युद्ध सुरू भएयता हुथी विद्रोहीले प्रहार गरेका अधिकांश क्षेप्यास्त्र इजरायली हवाई सुरक्षा बलले रोकेका छन् ।