KhojSansar

आजै मध्यरातदेखि मौन अवधि

Khoj Sansare News

काठमाडौँ, १८ फागुन २०८२ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार उम्मेदवार र दलको प्रवर्धन हुने गरी प्रचारप्रसार गर्न पाउने छन् । फागुपूर्णिमा पर्व पनि परेका कारण कतिपय उम्मेदवारले अन्तिम दिनमा आन्तरिक बैठकमा केन्द्रित हुने रणनीति बनाएका छन् । 

प्रतिनिधि सभा निर्वाचन, २०८२ को प्रयोजनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ । आयोगले यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण तोकेको छ । जस अनुसार निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । 

त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन पनि नहुने आयोगले जनाएको छ । 

आयोगले मौन अवधिमा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण पनि तोकेको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम गर्न नहुने आयोगले जनाएको छ । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार तथा राजनीतिक दलले गतिविधि गरेमा उक्त उम्मेदवारको मनोनयन नै रद्द गरिने छ । शून्य समय अथवा मौन अवधिमा उम्मेदवार पनि शून्यमै बस्नुपर्ने बताउँदै भण्डारीले भन्नुभयो, “यो समयमा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउँदैनन् । बरु निर्वाचन प्रचारका क्रममा मतदातासमक्ष के कस्ता प्रतिबद्धता जनाइएको छ, त्यसलाई निर्वाचनपछि कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा उम्मेदवारले योजना बनाउनु पर्छ ।” आफू मत माग्न जाँदा मतदाताको प्रतिक्रिया कस्तो रह्योलगायतका विषयमा पनि समीक्षा गर्ने समयका रूपमा मौन अवधिलाई सदुपयोग गर्नुपर्ने भण्डारीले बताउनुभयो । 

यस अवधिमा सामाजिक सञ्जालमा विगतमा कुनै पोस्ट राखिएको रहेछ भने हटाउनु पर्छ भने यस्तो समयमा मतदातालाई असर पर्ने कुनै काम गर्न हुन्न । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार मौन अवधिमा यस पटक विशेष निगरानी गरिने छ । उहाँले भन्नुभयो, “निगरानीका लागि अनुगमन अधिकारी खटाएका पनि छौँ । धेरै चलखेल हुने ठाउँमा अनुगमन पनि गरेका छौँ ।”

निर्वाचनलाई नै असर पर्ने गरी कुनै उम्मेदवारले गतिविधि गरेमा उसको मनोनयनपत्र नै खारेज पनि हुन सक्छ । मनोनयन पत्र नै खारेज भयो भने त अर्को छ वर्षसम्म चुनावी प्रतिस्पर्धामा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ । भण्डारीले भन्नुभयो, “यो भनेको १२ वर्षपछि धकेलिनु हो । किनकि छ वर्ष भाग लिन नपाउनु भनेको अब आउने निर्वाचनमा पनि भाग लिन नपाउनु हो । त्यसपछि अर्को निर्वाचन भनेको त १२ वर्षपछि मात्रै हुन्छ । यस्तो जोखिम मोलेर उम्मेदवारले गैरकानुनी गतिविधि गर्नुहुन्न होला ।”

सञ्चार माध्यमको भूमिका महत्वपूर्ण 

यसैबिच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको मौन अवधिमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा आइतबार राजधानीमा आयोजित ‘मौन अवधि र मिडिया’ विषयक अन्तर्क्रिया कार्यक्रममा कावा प्रमुख आयुक्त भण्डारीले पत्रकारको आफ्नै आचारसंहिता र निर्वाचन आचारसंहितालाई ख्याल राख्दै सञ्चार माध्यमले निर्वाह गर्ने भूमिकाले स्वच्छ निर्वाचनमा सहयोग पुग्ने बताउनुभयो ।

निर्वाचनको मौन अवधि भनेको शान्त रहेर मस्तिष्क र विचार मन्थन गर्ने समय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो “निर्वाचनको विश्लेषण गर्न पाइयो तर यो उम्मेदवारले जित्छ, यसले हार्छ या यो राम्रो ऊ नराम्रो भन्न र जितहारको घोषणा गर्न पाइएन ।” उहाँले निर्वाचन आचारसंहिताको उल्लङ्घनमा आयोगले निर्मम रूपमा कानुनको कार्यान्वयन गर्नेसमेत बताउनुभयो ।  उहाँले मौन अवधिमा आचारसंहिताको पालना गरी आयोगलाई सहयोग गर्न सञ्चारकर्मीसँग आग्रहसमेत गर्नुभयो ।

सम्बन्धित समाचारः

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

  • बुटवल–नारायणगढ सडक अवरुद्ध

  • इरान–अमेरिकाबिच दुई साताको युद्धविराम

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.