KhojSansar

आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

Khoj Sansar News

काठमाडौँ, १४ साउन : राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवर्द्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले पर्यटन क्षेत्रको दीर्घकालीन तथा समावेशी विकासका लागि आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै नीतिगत संरचना विकास गर्नुपर्ने निष्कर्ष निकालेको हो । स्वास्थ्य, वातावरण, पर्यटन, शिक्षा तथा स्थानीय तहका प्रतिनिधिहरू रहनेगरी उपसमिति गठन गर्दै उक्त अवधारणा निर्माणको प्रक्रियालाई औपचारिकता दिने निर्णय भएको सहसचिव इन्दु घिमिरेले जानकारी दिनुभयो ।

आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणापत्र तयार गर्नका लागि पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, पर्यटन विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल पर्यटन बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ, होटल एशोसिएसन नेपाल र नेपाल स्पा एण्ड वेलनेस एसोसिएसनका प्रतिनिधिहरू सदस्यका रूपमा रहनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाका उपसचिव उपसमितिका सदस्य सचिव तोकिएका छन् । परिषद्को यो निर्णयले नेपालमा नयाँ सभावनाका रूपमा देखा परिरहेको आरोग्य पर्यटनको समृद्धि र नीतिनिर्माणमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

बैठकमा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका पर्यटनमन्त्री, अन्य प्रदेशका मन्त्रालयका प्रतिनिधिलगायत परिषद्का सदस्यहरुको उपस्थिति थियो । हालै जारी भएको पर्यटन नीतिमा पर्यटनमन्त्रीको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय पर्यटन परिषद् रहने व्यवस्था गरिएको छ ।

पर्यटन नीतिको रणनीतिअन्तर्गत पर्यटकीय गन्तव्य र वस्तुको विविधीकरण र विस्तार गर्ने सन्दर्भमा परम्परागत तथा प्राकृतिक चिकित्सा, ध्यान, योग र आरोग्य (वेलनेस) पर्यटनको प्रवद्र्धन गर्न सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरिने उल्लेख छ । परिषद् बैठकले पर्यटन नीति, २०८२ को कार्यान्वयनका लागि कार्ययोजनामा उल्लेख भएका आआफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषय कार्यान्वयनलाई प्राथमिकता दिने निर्णय गरेको छ । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.