KhojSansar

पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता

काठमाडौँ, ६ भदौः पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ भूटानिज टुर अपरेटर्स (एब्टो) बीच दुई देशको पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ सम्झौता भएको हो ।

सम्झौतापत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले हस्ताक्षर गर्नुभएको छ । सहमतिपत्रले दिगो पर्यटन प्रवर्द्धन गर्ने साझा दृष्टिकोणसहित पर्यटन विकासमा सहकार्यलाई संस्थागत गर्ने आधार निर्माण गरेको नाट्टाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

दुवै संस्था आपसी जानकारी आदान–प्रदान, विचार र सीपको साझेदारी गर्दै यात्रा व्यापार उद्योगलाई सुदृढ पार्ने र नेपाल—भूटानका साथै दक्षिण एसियाली क्षेत्रमा दिगो पर्यटन प्रवर्द्धन गर्ने विषयमा सहमत भएका छन् । सम्झौताले सांस्कृतिक संरक्षण, वातावरणीय दायित्व र सामुदायिक सहभागितालाई प्राथमिकता दिने र पर्यटनलाई सकारात्मक परिवर्तनको शक्तिमा रूपान्तरण गर्ने विश्वास लिइएको छ ।

नाट्टका अध्यक्ष थपलियाले उक्त सम्झौताले नेपाल र भूटानबीचको आपसी पर्यटन प्रवर्द्धनलाई अझ बलियो बनाउँदै हिमाली क्षेत्रलाई दिगो पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एब्टोका अध्यक्ष ग्याल्त्सेनले नेपाल र भूटान सांस्कृतिक, आध्यात्मिक र प्राकृतिक सम्बन्धले गाँसिएका राष्ट्र भएकाले पर्यटनबाट जनजीवनमा प्रत्यक्ष लाभ पु¥याउने, परम्पराको संरक्षण गर्ने र प्राकृतिक सम्पदाको सुरक्षा गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइने बताउनुभयो । -रासस

सम्बन्धित समाचारः

  • तराई र उपत्यकामा तातो दिन

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.