KhojSansar

प्रज्ञा प्रतिष्ठानबाट पहिलोपटक प्रकाशित गुरुङ भाषाको पत्रिका ‘तमू कए’ को लोकार्पण-२०८२

Khoj Sansar News

काठमाडौं, ४ भदौ: नेपाल प्रज्ञा प्रतिष्ठान स्थापनाको ६८ वर्षमा पहिलोपटक प्रकाशन भएको गुरूङ भाषाको पत्रिका ‘तमू कए’ लोकार्पण भएको छ ।

प्रज्ञा प्रतिष्ठान र तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले काठमाडौंमा आयोजना गरेको एक समारोहका बीच सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिमोचन गरेका हुन् ।

मन्त्री गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएको भन्दै यसको संरक्षणको अभियान घरबाटै सुरु गर्नुपर्ने बताए । बसाइँसराइका कारण जनजाति समुदायमा पनि गुरुङ समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको भन्दै गुरुङ समुदायको मातृभाषा नै लोप हुने खतरा बढेकाले यसको संरक्षणमा चनाखो हुनैपर्ने स्थिति आएको बताए । उनले भने, “गाउँगाउँबाट र घरघरबाट भाषा संरक्षणको अभियान सुरु गर्न जरुरी छ । कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ । तमू भाषा संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नु पर्छ । नत्र भने हाम्रो पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जान्छ ।”

कार्यक्रममा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा,संस्कृति, कला र जीवनशैलीको दस्तावेजीकरण गर्ने कार्य हुँदै आएको बताए । साथै जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम सञ्चालन गरेको र त्यसमा गुरुङ समुदायको अत्यन्त न्यून उपस्थिति रहेको यथार्थ पनि उल्लेख गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताए ।

तमू कएु पत्रिकाका कार्यकारी सम्पादक अनिता गुरुङले गुरुङ भाषा बोल्न सकिने भए पनि लिपिमा उतार्न निकै चुनौती खेप्नुपरेको अनुभव सुनाए । ढिलै भए पनि तमू समुदाय प्रज्ञाप्रतिष्ठानप्रति खुसी भएको उनले बताइन्। कार्यकारी सम्पादक गुरूङका अनुसार पत्रिकामा गुरूङ जातिको बसोबास रहेको गाउँको चिनारी, व्यक्ति चिनारी, गुरूङ जातिको रीतिरिवाज एवम् संस्कार, संस्कृति समेटिएको छ।

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ, तमू ह्युल छोंज धिँ गुरुङ राष्टिय परिषदका अध्यक्ष धनमान गुरुङ, तमू बौद्ध सेवा समितिका अध्यक्ष नारायण बहादुर गुरुङ, प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान ढोर जस्पुर तनहुँका अध्यक्ष क्या. लालजंग गुरुङ, पूर्वआइजीपी हेमबहादुर गुरुङ, पूर्वजर्नेलहरु नवराज गुरुङ, अशोक गुरुङ, काठमाडौंमा रहेका तमू संघसंस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारः

  • एनपिएलः आज दुई खेल हुने

  • स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

  • छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

  • आज विश्व टेलिभिजन दिवस

  • आहा ! फुङ्फुङ्गे झरना : पर्यटकको रोजाइमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.