दोधारा चाँदनी (कञ्चनपुर), २९ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्नुहुन्थ्यो । उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गर्नुभयो । एक दिन उहाँका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उहाँको मोबाइलमा पठाउनुभयो । “इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”, महराले भन्नुभयो, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरीभन्दा यसमा फाइदा छ ।” उहाँले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत सामग्री बनाउने गरेको बताउनुभयो । उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन् । युट्युबकै सहायताबाट अहिले उहाँले काठका भाँडाकुँडा तयार पार्दै आउनुभएको छ । “अहिले मासिक रु ४० हजारभन्दा बढी आम्दानी हुन्छ, पहिला महिनौँसम्म खाली बस्नुपथ्र्यो”, महराले भन्नुभयो, “यसरी राम्रो आम्दानी गर्न सकिएला भन्ने साचेकै थिइनँ ।” अहिले उहाँले उत्पादन गरेका सामग्री खरिद गर्न घरमै पुग्नुहुन्छ । उहाँले उत्पादन गरेका सामग्री बिक्री गर्न समस्या नरहेको बताउनुभयो । “माग त धेरै आउँछ, मागअनुसार मैले उत्पादन गर्न सकेको छैन एक्लै छु”, उहाँले भन्नुभयो, “यहाँका सामुदायिक वनले राम्रो गरेका छौँ भनेर कच्चा पदार्थ दिने गरेका छन् ।” पछिल्लो समय युट्युबलगायत विभिन्न…