१ महिना अगाडि
१ महिना अगाडि
भोजपुर, १ भदौः भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई अभ्यासमूलक कृषि शिक्षण गराउँदै आएको छ । यहाँका कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक शिक्षणमा जोड दिइएको हो । विद्यालय नजिकै १५ रोपनी जग्गा लिजमा लिएर आधुनिक तथा प्रविधिमैत्री खेती प्रणालीको ज्ञान र सीप प्रदान गर्ने काम भइरहेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई जीवनोपयोगी सीप दिने उद्देश्यले अभ्यासमार्फत शिक्षण गराइँदै आएको छ । “हामीले विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा जोड दिएका छौँ”, प्रधानाध्यापक रेग्मीले भन्नुभयो, “अहिलेको आवश्यकता प्राविधिक शिक्षाको हो । अध्ययन सकेपछि कुनै न कुनै कृषि उद्यममा संलग्न होस् भन्ने उद्देश्यले यो पद्धति अपनाएका हौँ ।” शिक्षालाई परम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेको उहाँको भनाइ छ । विगतमा राज्यबाट सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम निकै उपयोगी भए पनि हाल त्यो कार्यक्रम हटाइएकाले विद्यार्थी मारमा परेको उहाँको टिप्पणी छ । यस्ता उपयुक्त कार्यक्रमलाई पुनः निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । कृषि विषयका विद्यार्थीले कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी १६ वटा विषय अध्ययन गरिरहेका छन्…